‘कांग्रेसले देश चलाएन, यस पटक बाम गठबन्धनलाई हेर्नुहोस्

November 15, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

रबिना बोहरा,बागलुङ ।

नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा समानुपातिक उमेदवार मनकुमारी केसी जिसीले नेपाली कांग्रेसले पटक पटक बहुमत पाउदा पनि देश चलाउन नसकेकोले यस पटक बाम गठबन्धनलाई मौका दिन आम देशवासीसंग आव्हान गर्नु भएको छ ।

बाम गठबन्धनले मंगलवार काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आव्हान गर्नु भएको हो । पटक पटक बहुमत पाउदा पनि तोकिएको अवधीसम्म शासन सञ्चालन गर्न र जनताका पक्षमा काम गर्न नसक्ने कांग्रेसलाई फेरी पनि मत दिनु देशको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थालाई कमजोर नबनाउन उहाँको जनतासंग आग्रह छ ।

यतिबेला देशभरका बामपन्थीहरु एकतावद्ध भएर निर्वाचनमा होमिएका छन्, स्थानीय तहको निर्वाचन पछि पहिलो शक्तिका रुपमा रहेको एमाले र तेस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्र सहितको गठबन्धनलाई बहुमत दिएर स्थिर सरकार निर्माण गरी आर्थिक समृद्धिका लागि मत दिन उहाँले आव्हान गर्नु भयो ।

कांग्रेस अस्थिरताको कारकका रुपमा रहेकोले स्थिरताका लागि बामपन्थी शक्तिहरुलाई मत दिन उहाँको आग्रह थियो । राजनीतिक स्थिरताबाट मात्रै विकास संभव रहेको केसीले बताउनुभयो ।

बामपन्थीहरुले ९ महिना मात्रै शासन सञ्चालन गर्दा पनि देश र जनताको पक्षमा उल्लेख्य काम गरेको भन्दै उहाँले यस पटक बहुमत सहित ५ वर्षा लागि काम गर्ने अवसर प्रदान गर्न आव्हान गर्दै त्यो ५ वर्षा देशमा धेरै परिवर्तन हुने दावी पनि गर्नु भयो । कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपालीले नेपाली कांग्रेससंग मत माग्ने एजेण्डा नै नभएर बामपन्थी गठबन्धनलाई अण्ट सण्ट बोल्दै हिडेको आरोप लगाउनुभयो । आफ्नो पक्षमा मत माग्नका लागि एजेण्डा छैन, कामका लागि योजना छैन, विगतमा जनताको पक्षमा काम गरिएको छैन, अनि जनतालाई अलमलाउने उपायका रुपमा उनीहरुले बामपन्थी गठबन्धनले लोकतन्त्र समाप्त हुने हल्ला गरेको उहाँको भनाई छ ।

कार्यक्रममा बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभाका उमेदवार डा.र्सर्ूय पाठकले समाज रुपान्तरणका लागि बामपन्थी गठबन्धनले लिएको लक्ष्य र त्यसलाई कार्यान्वयनका लागि आफुसंग योजना रहेको भन्दै निर्वाचन मार्फ काम गर्ने अवसर प्रदान गर्न आव्हान गर्नु भयो ।

यस्तै प्रदेशसभा क का उमेदवार तथा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जलस्रोतलाई उपयोग गर्ने नीति निर्माण गर्न, पर्यटन प्रवर्द्धन, कृषिमा आधुनिकीकरण गरी समृद्ध नेपाल निर्माणका लागि बाम गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापा, नेकपा एमाले उर्जा विभागका केन्द्रिय सदस्य हिरा बहादुर केसी, नेकपा माओवादी केन्द्रका समानुपातिक उमेदवार भबिकला रोका, नेकपा एमाले काठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसी, एमाले जिल्ला सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, एमाले जिल्ला सदस्य तथा काठेखोला गाउँपालिका वडा नं. ७ का अध्यक्ष प्रेम लामिछाने, एमालेका निवर्तमान क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम एमालेका वडा अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता, माओवादी केन्द्रका जिल्ला सदस्य मनोज थापाको स्वागत र युवा संघ रेशका महेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।