प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुङ्ग्याउँछौः अध्यक्ष प्रचण्ड

October 7, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताउनुभएको छ ।

नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा सो कुरा बताउनु भएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सरकारको काम कारवाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

जनताले विश्वासका साथ पार्टीलाई मत दिएर शक्तिशाली बनाएको भन्दै उहाले जनताको विकास निर्माण, सुशासन र समृद्धिको अपेक्षालाई पूरा गर्न नेतृत्व र सबै सचेत नागरिक एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले लामो सङ्घर्ष र बलिदानीपश्चात् नेपालमा अहिले विशिष्ट प्रकृतिको असाधारण राजनीतिक परिस्थिति सिर्जना भएको बताउँदै त्यसको महत्व र गहिराइलाई गम्भीर चिन्तनमनन गरेर सम्भावनासँगै ठूल्ठूला चुनौतीको सामनाका साथ अघि बढ्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयोे ।

नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्यूठान जिल्लाको प्रतिनिधित्वको हिसाबले आफूले अघि सारेको विकास निर्माणको प्रतिवद्धताअनुरुप बाँकी काम पूरा गर्न सक्रिय ढङ्गले लाग्ने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य विजय गुरुङ, सांसद कृष्णध्वज खड्का, युवा नेता भोजविक्रम बुढालगायतले पार्टीको तल्लो तहसम्मको एकता प्रक्रियालाई चाँडो टुङ्ग्याई जनताको समृद्धिको अपेक्षालाई सार्थक तुल्याउन नेतृत्व वर्ग र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्यूठान जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।