कुस्ती खेलमा भारतीय पहलवानहरुले वर्चस्व

November 26, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

रुपन्देहीको ओमसतिया गाउँपालिका–५ स्थित गौरीमा सम्पन्न कुस्ती खेलमा भारतीय पहलवानहरुले वर्चस्व जमाएका छन् । नेपाली खेलाडी नभिडेपछि भारतीय पहलवानहरु बीच नै मुख्य पुरस्कारका लागि प्रतिष्पर्धा भएको थियो । नेपाली खेलाडीहरु सानो राशीको पुरस्कारका लागि मात्रै प्रतिस्पर्धा गरेका थिए ।

७० हजार रुपैयाँ राशीका लागि भएको प्रतिस्पर्धामा भारत गोरखपुरका नगेन्द्र पहलवानलाई हराउँदै भारत पंजावकै बब्बी पहलवानले कुस्तीको उपाधि जिते । निकै रोमांचक प्रतिस्पर्धामा बब्बीले नगेन्द्रलाई करिब ७ मिनेट लगाएर जित निकालेका हुन् ।

३० हजार राशीका लागि भएको प्रतिस्पर्धामा भारत हरियाणाका राकेश पहलवानलाई हराउँदै गोरखपुरका सर्वेस तिवारीले जित निकाले । उनले ६ मिनटे लगाएर उनीमाथि जित निकालेका हुन् । यस्तै २० हजार राशीका लागि भएको प्रतिस्पर्धामा गोरखपुरका नागेन्द्र सिंहले विजयी हासिल गरे । उनले पंजावका अलि हसनमाथि पाँच मिनेट ३० सेकेन्डको समयमा जित निकालेका हुन् ।

तराईमा निकै लोकप्रिय मानिने कुस्ती खेल कार्तिक शुक्ल पूर्णिमाको अवसरमा ओमसतिया रामजानकी मन्दिर व्यवस्थापन समितको आयोजनामा भएको हो । कुस्ती हेर्न गाउँगाउँबाट हजारौंं दर्शक आएका थिए । विजयी खेलाडीहरुलाई ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट(राहुल) र रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले पुरस्कार हस्तान्तरण गरे । खेल दुई दिन सम्म चलेको थियो । खेलमा नेपाल र भारतका गरी १५० बढी खेलाडीको सहभागिता रहेको ओमसतिया गाउँपालिकाका प्रवक्ता शिव कुमार धवलले जानकारी दिए ।