समुदाय-प्रहरी साझेदारी अन्तर्गत सडक नाटक प्रदर्शनी

September 8, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

प्रदेश नम्बर ३ प्रदेश सांसद अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत काठमाडौं महानगरपालिका-१५ भगवानपाउँमा शुक्रबार आयोजित मानव वेचविखन विरुद्ध जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शनी सम्पन्न भएको छ ।

उक्त अवसरमा सांसद शाक्यले सडक नाटक प्रदर्शन गर्ने कलाकारकाहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । साथै सांसद शाक्यले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा यस्ता जनचेतनामूलक कार्यक्रम निकै महत्वपूर्ण रहेको चर्चा गर्दै सडक नाटकले नागरिकमा जनचेतना अभिवृद्धि गराई यस्ता अपराध न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । साथै यस्ता अपराध न्यूनीकरण गर्नका लागि समुदायले प्रहरीलाई यसबारे समयमै सही सूचना प्रदान गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य बारेमा जानकारी दिनुभएको थियो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भू, काठमाडौं महानगरपालिका वडा नम्बर १५ र सामुदायिक अध्ययन केन्द्रद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा सामुदायिक अध्ययन केन्द्रका कलाकारहरुले उक्त नाटक प्रदर्शन गरेका थिए ।

कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, समाजसेवी लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।