अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको आरोप

September 13, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्वाले अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको आरोप लगाएका छन् । राष्ट्रिय महिला मोर्चाको पाँचौ राष्ट्रिय महाधिवेशनको शुक्रबार तिलोत्तमा मंगलापूरमा उद्घाटन् गर्ने क्रममा सो कुरा बताएका हुन् । भ्रष्टाचार गर्नेलाई देशद्रोह सरहको अपराध मान्नु पर्ने र भ्रष्टाचार विरुद्धका अहिले भएका व्यवस्था तथा कारबाही खपुग रहेको बताउँदै उनले भ्रष्टाचार छानविनका लागि शक्तिशाली नागरिक आयोग नै गठन गर्नुपर्ने माग बताए ।

‘अर्बौको रकम भ्रष्टाचार गर्नेलाई एक÷दुई लाख रुपैयाँ धरौटी लिएर अदालतले छाडिदिन्छन्’ उनले भने –‘अदालतको यो कार्यले भ्रष्टाचारीलाई कानुनी रुपमा चोख्याउने र संरक्षण गर्ने कार्य भएको छ ।’ भ्रष्टाचार छानविनका लागि स्वतन्त्र र अधिकार प्राप्त नागरिक आयोग गठन गर्नुको विकल्प नभएको उनले बताए । अन्यथा, अरबौं भ्रष्टाचार गर्ने दुईचार लाख विगो बुझाएर उम्किने प्रवृति हावी हुने उनको धारणा थियो । नेपालले आर्थिक समृद्धि हाँसिल गर्न नसक्नुमा एक प्रमूख कारक तत्व भ्रष्टाचार भएको अध्यक्ष पालुङ्वाको दावी थियो । भ्रष्टाचारलाई न्युनिकरण नभई निर्मुल नै पार्नुपर्ने उनले बताए । यसका लागि भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्नुपर्ने, आजीवन कारवासको संजाँय, भ्रष्टाचारीको सम्पत्ती राष्ट्रियकरण र शक्तिशाली नागरिक आयोग गठन जस्ता कुराहरुलाई संवैधानिक रुपमै व्यवस्था गर्न सरकारसंग आफ्नो पार्टीले माग गरेको उनले बताए ।

महिलाहरुले सामाजिक र राजनैतिक अधिकार प्राप्तिका लागि घरको चुलो र चौकाबाट आफुलाई बाहिर निकाल्नु पर्ने पनि उनले बताए । पाँचौं राष्ट्रिय महाधिवेशन मूल तयारी समितिका संयोजक लिलमाया रानाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्षहरु होमाया गुरुङ, रविन्द्र उच्च नेपाली र कमला थापा, उपमहासचिव तारा वलाल, केन्द्रिय सचिव मनिराज चौंलागाई, सदस्य शर्मिला महरा, संघीय महासभा सदस्य नरजङ्ग गुरुङ, पार्टीका प्रदेश नं ५ अध्यक्ष झम बहादुर गुरुङ, नेताहरु रिना पचभंैया, मधु मालती बुढाथोकी, गीता सारु लगायतले बोलेका थिए ।

महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने आयोजकले जनाएको छ ।