प्रदेशसभाबाट पारित भएका कानूनहरुको पुनरावलोकन गर्ने समय आयो सरोकारवाला

September 14, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

प्रदेशहरुले धेरै कानून बनाउने प्रतिष्पर्धा गर्नुभन्दा पनि प्रदेशसभाले बनाएका कानूनहरुले जनताको जिवनस्तर माथि उठाउन के कस्तो भूमिका खेल्न सक्यो भन्ने तर्फ ध्यान दिन जरुरी रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

संबैधानिक कानून व्यवसायी मञ्च काण्ठाण्डौको आयोजना तथा उच्च अदालत नेपाल बार एशोसिएसन बुटवलको सहकार्यमा आज बुटवलमा आयोजित प्रदेश विधेयकहरु माथिको छलफल कार्यक्रममा बोल्दै कानूनका जानकार तथा अगुवाहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा संबैधानिक कानून व्यवसायी मञ्चका पुर्व अध्यक्ष तथा नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष टिकाराम भट्टराईले कानून निर्माण र संरचना सहितको संघीयता कार्यान्वयनमा अन्य मुलुकको तुलनामा नेपाल अग्र स्थानमा रहेको उल्लेख गर्दै प्रदेशसभाले अब आफुले बनाएका कानूनहरुको जनस्तर बाट पुनरावलोकन गराउने बेला आएको बताएका थिए ।

यस्तै संबैधानिक कानून व्यवसायी मञ्चका पुर्व अध्यक्ष तथा तथा बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रदेश प्रहरी र लोकसेवा आयोग सम्बन्धी कानून निर्माणमा संघीय सरकारले खेलेको भूमिका हस्तक्षेपकारी रहेको भन्दै त्यसतर्फ प्रदेश सरकार र प्रदेशसभा चनाखो हुनुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।

कार्यक्रममा प्रदेश नं ५ प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्माले प्रदेशलाई आवश्यक पर्ने कानून निर्माण परेको चापका कारण विधेयकहरु माथि जनस्तर सम्म छलफल र बहस चलाउन नसकिए पनि आगामी दिनमा सरोकारवाला निकायहरु सँग छलफल गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । प्रदेश नं ५ का प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रदेशसभाले कानून निर्माण गर्दा अवलम्वन गरेका बिधि, प्रक्रिया र कानून निर्माणको अवस्था बारे जानकारी गराउनु भएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव पुनले प्रदेश नं ५ को प्रदेश सभामा हाल सम्म ५० वटा विधेयक दर्ता भएकोमा अहिले सम्म ४७ वटा विधेयक पारित भएको, ४२ वटन विधेयक प्रमाणिकरण भैसकेको र ३ वटा विधेयक पारित हुने क्रममा रहेको जनाउनु भएको थियो । कार्यक्रममा प्रदेशका मुख्य न्यायधिवक्ता ठाकुर प्रसाद डिसीले प्रदेश कानून निर्माण, कार्यान्वयन र चुनौतिहरु बारे प्रकाश पार्नुभएको थियो ।

यसैविच प्रदेशसभाको भौतिक पूर्वाधार तथा विकास समितिका सभापति आशा स्वर्णकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ, थान कुमारी थापा, संबैधानिक कानून व्यवसायी मञ्चका सदस्य तथा अधिवक्ता लिलाधर उपाध्याय, नेपाल बार एशोसिएसन उच्च अदालत इकाई बुटवलका अध्यक्ष जोग बहादुर खत्री, सचिव गोबिन्द मरासिनी, बरिष्ठ अधिवक्ता तेज प्रसाद कंडेल, अधिवक्ताहरु बुद्ध बहादुर थापा, महेन्द्र प्रसाद पाण्डे, सालिकराम बन्जाडे, मेहलाल न्यौपाने र पत्रकार बिक्रम खड्का लगायतले आ आफ्नो राख्नु भएको थियो ।