५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू

November 4, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ५ को आयोजनामा ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा सुरू भएको छ ।

५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा सुरू भएको उक्त गोष्ठीको आजको सत्र सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, प्रहरीले सम्पादन गरेका समग्र कार्य, हालसम्म प्राप्त उपलब्धीहरु लगायतका विषयमा चर्चा गर्दै दन्डहिनताको अन्त्यका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । गौतम वुद्धको जन्मस्थल शान्तिको प्रतीकको रुपमा चिनिएको सन्दर्भमा नेपाल प्रहरीले कानुनको उचित कार्यान्वयन गर्दै शान्ति सुरक्षा कायम गरी शान्तिको प्रतीकलाई थप चिनाउने काम गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरीका काम कारवाही पारदर्शी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई बदनाम बनाई मनोबल घटाउन खोज्ने तत्वलाई निस्तेज बनाई मनोबल अझै बढाउन सबै मिलेर जानुपर्ने बताउनुभयो । उचित व्यक्तिलाई उचित स्थान दिने नीति अवलम्बन गरी काम गर्दै अपराध गरी विदेशमा भागेका र विदेशमा अपराध गरी नेपाल आई लुकेका अपराधीहरुलाई समेत कानुनको दायरामा ल्याउने लगायत काम गरी असम्भवलाई पनि नेपाल प्रहरीले सम्भव बनाएको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारले अवलम्बन गरेको सुखी नेपाली समृद्ध नेपालको नीतिप्रति नेपाल प्रहरी कटिवद्ध भई अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई अन्तर्राष्ट्रिय रुपमा लैजानु पर्नेमा जोड दिँदै नागरिकसँगै मिलेर सुरक्षा सुदृढिकरणमा लाग्न साझेदारी कार्यक्रमले मद्दत पुर्‍याएको उहाँले बताउनुभयो ।
विभिन्न बक्ताहरु समेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।
मंगलबार सम्पन्न हुने उक्त गोष्ठीको आजको सत्रमा गृहमन्त्रीका सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, ५ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव तोय नारायण ज्ञवाली, ५ नम्बर प्रदेश हेडक्वाटर नेपाली सेना मध्यपश्चिम पृतना बुटवल रुपन्देहीका पृतनापति उपरथी सिताराम खड्का, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेशका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, १२ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।