मन्त्रिपरिषद पुनर्गठन, केही नयाँ अनुहार

November 20, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

प्रधानमन्त्री केपी ओलीले बुधबार बेलुकी मन्त्रिपरिषद पुनर्गठन गरी केही नयाँ अनुहारलाई थपेका छन् भने केही पुरानैले निरन्तरता पाएका छन् । प्रधानमन्त्री को सिफारिसअनुसार राष्ट्रपति कार्यालयले बुधबार राती मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको हो ।

नयाँ सूचीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, सहरी विकासमन्त्री इस्तियाक राइ यादव र खानेपानीमन्त्री विना मगरलाई यथावत् राखिएको छ । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको मन्त्रालय फेरिएको छ । उनले समाल्दै आएको स्वास्थ्य मन्त्रालय नेकपाका भानुभक्त ढकाललाई दिइएको छ। उपेन्द्रलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारमा केही नयाँ र केही पुराना अनुहारले मन्त्री बन्ने अवसर पाएका छन् । हृदयेश त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् भने घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका छन् । लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिइएको छ भने रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्। सँगै वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् भने पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाइएको छ।

त्यसैगरी मोतीलाल दुगड, रामवीर मानन्धर र नवराज राउत राज्यमन्त्री बनेका छन्। दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका छन् भने रामवीरलाई सहरी विकास राज्यमन्त्री र रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।