अपहरणमा परेका व्यक्तिको सकुशल उद्धार, अपहरणमा संलग्न ५ जना पक्राउ

December 20, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

अपहरणमा परेका काठमाडौं टोखा नगरपालिका-३ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २१ वर्षीय नरेश थापा मगरलाई बुधबार दिउँसो प्रहरीले सकुशल उद्धार गरेको छ । साथै अपहरणमा संलग्न रहेको अभियोगमा ५ जनालाई हेटौंडा उपमहानगरपालिका-९ लामसुरेबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-६ बस्ने २४ वर्षीय किसन गुरुङ, सोही ठाउँ बस्ने २९ वर्षीय आशिक लामा, काठमाडौं महानगरपालिका-३ बानेश्वर बस्ने धनगढी घर भएका २४ वर्षीय आशिष सिजापती, कन्चनपुर श्रीपुर गाउँपालिका-६ बस्ने २९ वर्षीया सुनिता धामी र मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ लामसुरे बस्ने चितवन मेघौली घर भएकी ३६ वर्षीया सरस्वती तामाङ रहेका छन् ।

बुधबार बिहान अमलेखगंजबाट काठमाडौं जान भनी हेटौंडातर्फ जाँदै गरेको बा.२ ज ५९५ नम्बरको ट्याक्सीमा सवार मध्येका मगरलाई बा.२ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका व्यक्तिहरूले अपहरण गरेको र काठमाडौं महानगरपालिका-४ बस्ने काभ्रे मंडल देवपुर नगरपालिका-९ घर भएका २८ वर्षीय सरोज सापकोटालाई कुटपिट गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरूबाट तत्कालै खटिएको प्रहरीले मगरलाई हेटौंडा उपमहानगरपालिका-९ लामसुरेस्थित सरस्वती तामाङको घरमा बन्धक बनाइरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो । साथै अपहरणमा संलग्न उनीहरूलाई अपहरण कार्यमा प्रयोग गरिएको ट्याक्सी सहित पक्राउ गरी उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा संलग्न फरार रहेका अन्य ४ जना व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।