काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ७ हजार ११४ जना मतदाता कायम भएका छन्। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका अनुसार सार्वजनिक गरिएको मतदाता नामावलीमा केही नाम तथा विवरण छुटेको भए दाबी–विरोध र आवश्यक संशोधनमार्फत सच्याउने प्रक्रिया अघि बढाइनेछ। त्यसपछि अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ ।
यसपटक कांग्रेस महाधिवेशनका लागि कायम गरिएको मतदाता संख्या अघिल्लो १४औँ महाधिवेशनको तुलनामा उल्लेख्य रूपमा बढेको छ । १४औँ महाधिवेशनमा ४ हजार ७४३ जना मतदाता रहेका थिए ।
यस हिसाबले १५औँ महाधिवेशनमा मतदाताको संख्या अघिल्लो महाधिवेशनभन्दा २ हजार ३७१ जना अर्थात् करिब ५० प्रतिशतले बढी भएको देखिन्छ ।
मतदाता संख्या बढेसँगै कांग्रेसको आगामी महाधिवेशनमा हुने नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ। महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ ।
केन्द्रीय निर्वाचन समितिले मतदाता नामावलीसम्बन्धी दाबी–विरोध तथा संशोधनको प्रक्रिया पूरा गरेपछि अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ। त्यसपछि निर्वाचनका बाँकी प्रक्रिया निर्धारित कार्यतालिका अनुसार अघि बढ्नेछन् ।
