ताजा समाचार • Halkhabar

रसुवाबाट आएको बाढीले फुर्के खोलाको पक्की पुल बगायो

रसुवाबाट आएको बाढीले फुर्के खोलाको पक्की पुल बगायो
अक्षरको आकार

धादिङ, भदौ १० — रसुवाबाट आएको भीषण बाढीले धादिङको फुर्के खोलामाथि रहेको पक्की पुल बगाएको छ। बाढीले पृथ्वी राजमार्गबाट धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने महत्वपूर्ण पुल बगाएपछि आवागमन प्रभावित भएको छ।

रसुवामा आएको बाढी त्रिशूली नदी हुँदै धादिङतर्फ आएपछि फुर्के खोलासहित विभिन्न स्थानमा ठूलो क्षति पुगेको हो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार फुर्के खोलाको मुख्य पक्की पुल बाढीले बगाएको हो।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले धादिङ क्षेत्रमा पानीको बहाव अझै बढिरहेको र ठाउँ–ठाउँमा राजमार्गसम्म पानीको सतह पुगेको बताएका छन्। उनले राजमार्गको यात्रा अत्यन्त जोखिमपूर्ण रहेको जानकारी दिएका छन्।

बाढीले फुर्के खोलाको पुलसँगै अन्य पक्की तथा झोलुंगे पुलमा समेत क्षति पुर्‍याएको जनाइएको छ। धादिङका प्रहरी प्रमुखका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

स्थानीय प्रशासनले बाढी प्रभावित तथा नदी किनारका बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। अहिले प्राथमिकता मानवीय क्षति रोक्ने र जोखिममा परेकाको उद्धार गर्ने रहेको प्रशासनले जनाएको छ।

रसुवाबाट सुरु भएको बाढीका कारण नुवाकोट, धादिङ हुँदै चितवनतर्फ समेत त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ।