ताजा समाचार • Halkhabar

भोटेकोशी बाढीमा ७ जनाको शव फेला, बेपत्ताको खोजी जारी

भोटेकोशी बाढीमा ७ जनाको शव फेला, बेपत्ताको खोजी जारी
अक्षरको आकार

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिमा हालसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङका विभिन्न स्थानबाट ती शव फेला परेका हुन्।

प्रहरीका अनुसार नुवाकोटको नदी किनारबाट ३ जना र धादिङबाट ४ जनाको शव फेला परेको हो। बाढीपछि नदी आसपासका क्षेत्रमा खोजी गर्ने क्रममा शवहरू फेला परेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी प्रमुख रेग्मीका अनुसार बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उद्धार तथा फेला परेका शव संकलनको काम भइरहेको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्रता दिएको छ।

यसैबीच, बाढीमा मानिसहरू बेपत्ता भएको सूचना पनि आइरहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ भने नदी किनार तथा सम्भावित क्षेत्रमा खोजी कार्य जारी रहेको छ।