काठमाडौं — महिला प्रहरीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा पक्राउ परेका युवकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ।
काठमाडौँको नयाँ बानेश्वरमा मंगलबार बिहान आकाशेपुलबाट बाटो काट्न आग्रह गर्दा पैदलयात्री राज कठायतले महिला प्रहरीसँग गालीगलौज गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गालीगलौजपछि विवाद बढ्दै जाँदा कठायतले ड्युटीमा रहेकी महिला प्रहरीमाथि हातपातसमेत गरेका थिए। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कठायतलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

