नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ। मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्पमा हुने यस महायज्ञले वेदविद्याश्रमलाई नमुना वैदिक विश्वविद्यालयका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ।
महायज्ञमा भगवान् शालिग्रामसहितको विशाल धनधान्याचल तथा अष्टाचल स्थापना गरिनेछ भने चार वेद, १८ पुराणसहित विभिन्न शास्त्रहरूको पारायण, पञ्चमहालक्ष्मी हवन र ५ करोड दीप प्रज्ज्वलन गरिनेछ। यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धर्माचार्यहरूको प्रवचन, झाँकी, भजनकीर्तन, गौमाता पूजन, योग तथा ध्यान शिविर यसका प्रमुख आकर्षण रहनेछन्।
आयोजकले महायज्ञका लागि घरघरबाट ‘श्रीराम’ मन्त्रद्वारा अभिमन्त्रित एक मुठी चामल र तुलसीको मठको माटो अर्पण गर्न विशेष आह्वान गरेको छ। साथै, हालैका प्राकृतिक विपद्मा परी असामयिक निधन भएका दिवंगत आत्माहरूको चिरशान्तिका लागि विशेष पितृ उद्धार अनुष्ठानसमेत सम्पन्न गरिनेछ।
