ताजा समाचार • Halkhabar

घरेलु तथा साना उद्योगको प्रवर्धनमा बागमती प्रदेश सरकारको जोड

घरेलु तथा साना उद्योगको प्रवर्धनमा बागमती प्रदेश सरकारको जोड

बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवर्धन, औद्योगिक सुरक्षा र नयाँ उद्यमी उत्पादनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री मगरले स्थानीय कच्चा पदार्थको उपयोग, विदेशी मुद्रा आर्जन र युवा पलायन रोक्न साना तथा मझौला उद्योगहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो।

उद्योगीहरूलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाएको छ। स्थानीय उत्पादनको बिक्री तथा प्रवर्धनका लागि हेटौँडामा ‘कोसेली घर’ निर्माण भइसकेको र जग्गा उपलब्ध भएका अन्य जिल्लामा पनि यसको विस्तार गरिने मुख्यमन्त्रीले जानकारी दिनुभयो। यसका साथै महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण र जिल्लास्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेटको व्यवस्था गरिएको छ। उद्योग स्थापना भइसकेपछि वरपर बस्ती विकास हुँदा देखिने स्थानीय विरोध र अनावश्यक स्थानान्तरणको समस्या समाधान गर्न प्रदेश सरकारले छुट्टै कानुनी सुरक्षाको व्यवस्था गरेको छ। साथै, उद्योग सञ्चालनमा ब्याजदरको स्थिरता आवश्यक रहने भन्दै व्यवसायीलाई अप्ठ्यारो पार्ने ऐन, नियमावली तथा कार्यविधि संशोधन गर्न सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ्गले उद्योग दर्ता तथा नवीकरण प्रक्रिया सरलीकरण गर्न, प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिन र सार्वजनिक निकायले खरिद गर्ने वस्तु तथा सेवामा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादन अनिवार्य गर्न आग्रह गर्नुभयो। त्यस्तै, महासंघको केन्द्रीय महिला उद्यमी समितिकी अध्यक्ष रिता अवालले पुँजीको अभाव, उच्च ब्याजदर र बजार प्रतिस्पर्धाका कारण घरेलु उद्योगीहरू कठिन अवस्थामा रहेको उल्लेख गर्दै सहुलियतपूर्ण कर्जा, रुग्ण उद्योग पुनरुत्थान र ‘एक पालिका–एक विशेष उत्पादन’ कार्यक्रमलाई ब्राण्डिङ तथा निर्यातसँग जोड्न प्रदेश सरकारसँग माग गर्नुभयो।