सुरक्षा भट्टराई, काठमाण्डौं ।
म्युजिकल फिल्म ‘ब्युटिफूल’ सार्वजनिक भएको छ । करिब ७ मिनेट लामो यस म्युजिकल भिडियोमा गायक समीर आचार्य र गायिका अञ्जुली हमालको स्वर रहेको छ । गीतमा शब्द र संगीत पनि स्वयं समीर आचार्यकै रहेको छ ।
भिडियोमा मोडल शिभान्सी खड्काको मुख्य अभिनय देख्न सकिन्छ । सुनिल बिकको निर्देशनमा तयार पारिएको यस भिडियोलाई अनिल मानन्धरले छायांकन गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका छन् । भिडियोको कोरियोग्राफी रोशन विश्वकर्माले सम्हालेका छन्।
यस म्युजिकल फिल्मले समाजमा बाह्य आवरण र मेकअपका आधारमा सुन्दरताको मापन गर्ने कमजोर चेतनामाथि प्रश्न उठाएको छ। गोरो छाला वा चम्किलो अनुहार नै सुन्दरता हो भन्ने भ्रमलाई चिर्दै असली सुन्दरता मानिसको सोच, कर्म र स्वावलम्बनमा हुन्छ भन्ने सन्देश भिडियोले दिन खोजेको छ ।
आफ्नो मेहेनत, परिश्रम र लगावले आत्मनिर्भर बन्ने व्यक्ति नै वास्तविक अर्थमा सुन्दर हुन्छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको यो भिडियोले दर्शक तथा श्रोताको राम्रो साथ पाउने अपेक्षा गरिएको छ ।

