ताजा समाचार • Halkhabar

चिनियाँ सैन्य विमान मार्फत नेपाललाई थप राहत प्राप्त साथमा डिएनए विज्ञको टोली नेपाल आए

चिनियाँ सैन्य विमान मार्फत नेपाललाई थप राहत प्राप्त साथमा डिएनए विज्ञको टोली नेपाल आए
अक्षरको आकार

चीन सरकारका तर्फबाट बाढी तथा पहिरो प्रभावितका लागि दोस्रो खेपको राहत सामग्री र डिएनए (DNA) पहिचान विज्ञसहितको टोली नेपाल आइपुगेको छ। मंगलबार साँझ चिनियाँ सेनाको विशेष विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

काठमाडौंका लागि चिनियाँ दूतावासका अनुसार, यस विमानमा बाढी-पहिरोका कारण ज्यान गुमाएका नागरिकहरूको पहिचानमा सहयोग पुर्‍याउन चीनबाट ५ जना डिएनए विज्ञहरू नेपाल आएका छन्। टोलीले विपद्‌मा परी ज्यान गुमाएका र पहिचान हुन बाँकी शवहरूको डिएनए परीक्षण तथा वैज्ञानिक पहिचानमा नेपाली सुरक्षा निकाय र स्वास्थ्य अधिकारीहरूलाई प्रत्यक्ष सहयोग गर्नेछ।

यसका साथै, विमानमा बाढी र पहिरो प्रभावित क्षेत्रका लागि अत्यावश्यक राहत सामग्रीहरू समेत ल्याइएको छ। चीनले नेपाललाई प्रदान गरेको सहयोगको यो दोस्रो चरण हो । यसअघि पहिलो चरणअन्तर्गत चिनियाँ सेनाका दुई वटा विशाल कार्गो विमानमार्फत ठूलो परिमाणमा उद्धार तथा राहत सामग्री नेपाल भित्र्याइएको थियो ।

नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरोपछि छिमेकी मुलुक चीनले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निरन्तर सहयोग उपलब्ध गराउँदै आएको छ। प्राप्त राहत सामग्रीहरू शीघ्र प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ।