२०८३ सालको बडादसैँ पर्वका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले विभिन्न कृत्य तथा शुभ साइतहरू औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
समितिले यस वर्षको दसैँका मुख्य दिनहरू र तिनको साइतको विस्तृत विवरण प्रकाशन गरेको हो।
सार्वजनिक गरिएको तालिकाअनुसार वि.सं. २०८३ सालको बडादसैँको घटस्थापना (नवरात्रारम्भ) असोज २५ गते, आइतबार बिहान ११:४७ बजे परेको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेको हुनाले घटस्थापना गर्नुअघि तिनको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले स्पष्ट पारेको छ। यसैगरी, असोज २६ गते सोमबार बिहान १०:१७ बजे भण्डा फेर्ने (पश्चिम मोडा) साइत रहेको छ भने असोज २९ गते बिहीबार श्री पचलीभैरव यात्रा परेको छ।
दसैँका अन्य महत्वपूर्ण दिनहरूमा असोज ३१ गते शनिबार बिहान ७:३७ बजे फूलपाती र बिहान १०:३९ बजे स्थिरासन परेको छ। यसैक्रममा, कात्तिक १ गते आइतबार महाष्टमी र कालरात्रि पर्व मनाइनेछ भने कात्तिक ३ गते मंगलबार महानवमी रहेको छ । विजया दशमीका दिन, अर्थात् कात्तिक ४ गते बुधबार बिहान ८:४९ बजे देवी विसर्जनको साइत जुरेको छ भने बिहान १०:२६ बजे पश्चिम फर्केर टीका लगाउने साइत उत्तम रहेको छ ।
सोही दिन बिहान १०:५१ बजे श्री तुलजाभवानी यात्रा, दिउँसो ११:५२ बजे स्थिरासन तथा खड्गयात्रा समेत हुनेछ । त्यसैगरी, बडादसैँको अन्तिम दिन कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रतपूजा गरिबारे पञ्चाङ्ग समितिले जनाएको छ। समितिले सामान्यतया देवीको प्रसाद ग्रहण गर्न तथा लगाउनका लागि साइत खोज्नु नपर्ने समेत उल्लेख गरेको छ ।
